NP EN

“साझा गन्तव्यको समुदाय” सँगसँगै

रेनमिन विश्वविद्यालयका अध्यक्ष प्रोफेसर लिउ वेई
माननीय प्राध्यापकहरू, प्राज्ञिक व्यक्तित्व एवम् विद्यार्थीहरू
आदरणीय मित्रहरू
महिला एवं सज्जनवृन्द !


बुद्धिजीवी, युवा विद्यार्थी तथा नेपालका मित्रहरूको यो जमघटसँग साक्षात्कार गर्न पाउँदा मैले गौरवानुभूति गरिरहेको छु । यस जन–विश्वविद्यालय, अनेकौँ विशिष्ट अध्येताहरूको थलो, ज्ञानको उद्गम र विवेकको स्रोतको रूपमा रहेको छ । जनगणतन्त्र चीनको अभूतपूर्व विकासमा यस विश्वविद्यालयका भूतपूर्व विद्यार्थीहरूको महान योगदान छ । यस विश्वविद्यालयमा यहाँहरूसँग साक्षात्कार गर्न आमन्त्रण गर्नुभएकोमा अध्यक्ष महोदयप्रति हार्दिक आभार व्यक्त गर्दछु । 

सान्बेई सार्वजनिक विश्वविद्यालयको स्थापनापश्चात् यस विश्वविद्यालयले आफ्नो सात दशकभन्दा बढीे गौरवमय इतिहासमा उच्चशिक्षाको क्षेत्रमा चीनमा मात्रै हैन विश्वकै लागि अग्रणी भूमिका निर्वाह गरेको छ । नयाँ चीनको उदयसँगै इतिहास गाँसिएको, सन् १९५०मा उत्तर चीन विश्वविद्यालयबाट विकसित भई अध्यक्ष माओलगायतका प्रबुद्ध नेतृत्वकर्ताहरूको मार्गदर्शनमा हुर्किएको यस विश्वविद्यालयमा उपस्थित हुन पाउँदा म अत्यन्त प्रभावित भएको छु । 

मानविकी र समाजशास्त्रमा विशेषज्ञता रहेको यस विश्वविद्यालयले चीनको उदयमा योगदान पुरयाउने अब्बल व्यक्तित्वहरू जन्माएको छ ।

‘तथ्यबाट सत्य खोज्ने’ उद्देश्य बोकेको यस विश्वविद्यालयले अध्ययन अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको छ र त्यसलाई निरन्तरता दिइरहेको छ ।

तथ्यबाट सत्य खोज्ने अथक प्रयत्नमा रहनुभएका विद्वतवर्ग तथा विद्यार्थीहरूको यो जमघटलाई असाधारण ऐतिहासिक परम्परा बोकेको यस विश्वविद्यालयको प्राङ्गणमा भेट्न पाउँदा मैले अत्यन्त हर्ष अनुभूत गरिरहेको छु ।

करिब ४३ वर्ष अघि, आफ्नो कलिलो युवा अवस्थामा, मलाई गिरफ्तार गरी जेल हालिएको थियो । निश्पक्ष– न्यायिक सुनुवाइबिना निरङ्कुश शासकहरू तथा तिनका दमनकारी सत्ताले मलाई दिएको कारावासको सजायँ उनीहरूका निहित स्वार्थहरू पूर्तिका लागि निरङ्कुश सत्ता टिकाइराख्न गरिएको थियो । उनीहरूको एक मात्र उद्देश्य थियो ः सत्यको दमन गर्ने र उनीहरूका संकीर्ण स्वार्थहरूको रक्षा गर्ने । त्यसका लागि, मलाई राष्ट्रद्रोही गतिविधि जस्तो संगीन अपराधमा संलग्न भएको आरोप लगाइयो र उनीहरूको सत्ताका निम्ति मलाई खतरानाक–तत्व ठहरयाइयो । सत्ताको बलमा सत्य स्थापित हुँदैन भन्ने दृढ विश्वासका साथ उनीहरूको सामु झुकिन, बरु मैले जीवनको समेत पर्वाह नगरी निरङ्कुशताविरुद्ध संघर्ष जारी राखेँ । सत्ताको शक्ति क्षणिक हुन्छ, तर सत्य भने सनातन र स्थायी हुन्छ भन्नेमा म विश्वास गर्दछु । र, तपाईहरूलाई भनौँ, जेलै जानुपर्ने मेरो अपराध के थियो? तथ्यबाट सत्य खोज्नु !

तथ्यबाट सत्य खोज्ने अपराधका लागि मैले चार वर्षसम्म एकान्त कारावास सहित १४ वर्ष लामो कठोर जेल सजाय व्यतित गर्नुपरयो । यद्यपि मेरो जीवनको त्यो अँध्यारो कालखण्डमा पनि आफ्नो ऊर्जाशील प्रकाश निभ्न कदापि दिइनँ । कारावासको त्यो कठोर बसाइमा आफ्नो अठोटको बध हुन किञ्चित दिइनँ । यातनाले मेरो आशालाई निल्न सकेन । म भित्रको एक जुझारु युवा ती प्रतिक्रियावादीहरूको सामु कदापि झुकेन । सत्यको प्राप्तिका लागि भएको मेरो प्रयत्नलाई, रुपान्तरणका लागि भएको प्रयासलाई दमनकारीहरूको क्रूरताले परास्त गर्न सकेन ।

अन्त्यमा, जित सत्यको नै भयो । र, जित सदैव सत्यको नै हुनेछ ।

सत्यको खोजीमा आफ्नो अथक प्रयत्नलाई जीवित राखेकोमा, सत्यको दीपलाई सदैव प्रज्ज्वलित राखेकोमा, यस गरिमामय विश्वविद्यालयलाई म यस मञ्चबाट बधाइ ज्ञापन गर्न चाहन्छु । त्यसैले त बेइजिङले, गुफादेखि अन्तरिक्षसम्म, कोक्रोदेखि क्याबिनसम्मका हरेक क्षेत्रहरूमा सभ्यता, ज्ञान र विकासको नेतृत्व गरेको छ ।

महिला तथा सज्जनवृन्द, आत्मीय मित्रहरू,

हाम्रो एसिया महान दार्शनिकहरू, सत्यको मार्गका अथक पथिकहरूको भूमि हो; आफैमा सम्पन्न र महान सभ्यताहरूको भूमि हो एसिया ।

महानतम सभ्यताहरूको उन्नयन भएको भूमि हो एसिया, त्यस्तो भूमि, जसले समग्र मानव समुदायलाई अन्वेषण र विकासको मार्गमा डोरयायो । हाम्रो एसिया त्यस्तो भूमि हो, जहाँ महान गुरु र सन्तहरू जन्मिए, विश्वमा शान्तिको प्रकाश छरे, ज्ञानका नवीन क्षितिज उघारे र सत्मार्गमा हिँड्न सिकाए ।

हाम्रो एसिया त्यस्तो भूमि हो, जहाँ हाम्रा पुर्खाहरूको मिहेनत र लगावले इतिहासको एक मजबुत जग बसेकोे छ, त्यस्तो जग जुन सिर्जनशीलताले सिञ्चित छ, वैज्ञानिक उत्सुकताले ओतप्रोत छ र दूरदर्शी नेतृत्वबाट प्रेरित छ ।

अन्वेषण र विकासको प्रक्रियाका विभिन्न चरणहरूमा हाम्रा पूर्वजहरूले विश्वलाई पथ प्रदर्शित गरे । उनीहरू आविष्कारक थिए र थिए दूरद्रष्टा पनि; जसको उत्तराधिकार सम्पूर्ण एसिया र विश्वका लागि अमूल्य निधि हो । इतिहासका अप्ठ्यारा गोरेटाहरूमा पनि उनीहरूले रुपान्तरणको रथलाई सदैव गति दिए । इतिहासका अँध्यारा अध्यायमा पनि उनीहरूले अठोटको ज्योतिलाई सदैव देदिप्यमान राखे । विकासका लागि भएको उनीहरूको प्रयास अथक थियो, उनीहरूको प्रतिज्ञा दृढ थियो र त्यस्तै उदाहरणीय थियो उनीहरूको नेतृत्व पनि । समृद्ध र विकसित एसियाको सपनालाई यथार्थमा अनुदित गर्नका निम्ति उनीहरू जीवनको बाजी लगाउन समेत पछि परेनन् । 

हाम्रा सृजनशील पूर्वजहरूले गुडाएको रथलाई गन्तव्यमा पुरयाउने र उनीहरूले बालेको ज्योतिलाई सदैव प्रज्ज्वलित राख्ने अभिभारा अब हामीमा छ । र, हाम्रा पुर्खाहरूको उक्त यात्रालाई निरन्तरता दिन हामीलाई शिक्षाले नै सक्षम बनाउनेछ ।

शिक्षाले मानव क्षमतालाई मलजल गरी सिर्जनशीलताको शिखरमा पुरयाउन सक्ने सामथ्र्य राख्छ । आर्थिक वृद्धि र विकासको रथ गुडाइराख्ने इन्धनका रूपमा आवश्यक पर्ने सिर्जनशीलता र दक्षताको विकास गर्ने सामथ्र्य शिक्षाले राख्दछ ।

देश विकासका लागि आधारशिला निर्माण गर्न आवश्यक इँटाहरू शिक्षाको तापले नै रापिएका हुन्छन् । र, यो गौरवमय विश्वविद्यालयमा, प्रिय विद्यार्थी साथीहरू, प्राप्त अमूल्य अवसरहरूको उचित सदुपयोग तपाईहरूले गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।

महिला तथा सज्जनवृन्द, आदरणीय मित्रहरू,

भगवान् बुद्ध र महान कन्फ्युसियसको भूमि, नेपाल र चीन हाम्रा दुई देशबीच सुमधुर आपसी सम्बन्धको लामो इतिहास रहिआएको छ । यी दुई द‌े‌शले संस्कृतिका साथै वाणिज्य, व्यापारका साथै सभ्यताको क्षेत्रमा सदियौँदेखि सहकार्य गर्दै आइरहेका छन् । सदियौँदेखि सह–अस्तित्वमा रहेको इतिहासको जगमा उभिएको हाम्रो सम्बन्ध प्राचीन कालदेखि कायम रहिआएको छ ।

अहिलेको समकालीन परिवेशमा, हाम्रा दुई देशबीचको सहकार्य अझ प्रगाढ हुन पुगेको छ । सहकार्यका पाटाहरूमा विविधता आएको छ । द्विपक्षीय भेटघाटको आदानप्रदानमा वृद्धि भएको छ । सम्पर्कको जोड अझ बेजोड भएको छ र द्विपक्षीय सम्बन्ध अझ घनीभूत भएको छ ।

हाम्रो मैत्री सम्बन्ध पञ्चशीलको जगमा अडिएको छ । सार्वभौम समानता, अहस्तक्षेप र एक अर्काको सम्वेदनशीलताप्रतिको सम्मानले हाम्रो स्थिर मित्रतालाई निर्देशित गरेको छ ।

एक असल छिमेकीको रूपमा चीनका संवेदनशीलताप्रति नेपाल सदैव सचेत छ । एक–चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ, कुनै पनि बाहानामा आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन दिएको छैन । र, त्यो प्रतिबद्धताप्रति नेपाल दृढ र अविचलित रहनेछ ।

त्यसैगरी, जनगणतन्त्र चीनले हाम्रो सार्वभौमसत्तालाई सम्मान गरेको छ । र, हाम्रा विकास प्रयासहरूमा सहयोग पुरयाएको छ । चाहे अनुकूल समयमा होस् वा प्रतिकूल समयमा, हाम्रा दुई देश सुखदुःखका साथीका रूपमा रहिआएका छन् । 

नेपालमा पूर्वाधार निर्माणका परियोजनाहरूमा चीनले गरेको उदार सहयोगले हाम्रा विकासका प्रयासहरूलाई मद्दत पुरयाएको छ । चिनियाँ लगानीकर्ताहरूले नेपालमा गरेको लगानी, व्यापारिक तथा प्राविधिक सहकार्यले हाम्रा प्रगतिका प्रयत्नहरूलाई टेवा पुरयाएको छ । यद्यपि, आर्थिक सहकार्यको समग्र अवस्थालाई नयाँ उचाइ दिन टड्कारो आवश्यकता रहेको छ । 

चिनियाँ पर्यटकहरूको बढ्दो आगमनले निश्चय नै हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ । र, यसले दुई देशका जनता र संस्कृतिबीच हुने अन्तरक्रियामा समेत वृद्धि गरेको छ ।

चीन नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षाका प्रमुख गन्तव्यहरूमध्ये एक हो । चीनमा नेपाली विद्यार्थीहरूको बढ्दो सङ्ख्याले विचारहरूको आदान प्रदानको सम्भावना, दक्षता वृद्धिको सम्भावना र साझा भविष्य निर्माणको सम्भावनाको क्षितिज उघारेको छ । 

चीनको स्वशासित क्षेत्र तिब्बतको द्रुत विकासले दुई मुलुकबीचको व्यापार तथा लगानीमा योगदान गर्नेछ भन्ने विश्वास मैले लिएको छु । तिब्बतको प्रशंसनीय विकासले भौगोलिक विषमता र अन्य कारणहरूले सिर्जित अवरोधहरूको न्यूनीकरण गर्नेछ ।

एक अल्पविकसित भूपरिवेष्ठित देशको रूपमा नेपालसामु समृद्ध भविष्य निर्माण गर्न अनेकौँ चुनौतीहरू विद्यमान छन् । हामीले लगानी वृद्धि गर्न, स्रोत साधनको महत्तम उपयोग गर्न र प्रविधि तथा अन्वेषणका रणनीतिहरूको विकास गर्न जरुरी छ । लगानीले हाम्रा बाधाहरूलाई खुकुलो पार्नेछ, स्रोत–साधनको उचित प्रयोगले निर्माणका लागि आधार तयार गर्नेछ तथा प्रविधिले विकासको रेखाचित्रलाई गतिशील बनाउनेछ ।

नेपाली जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नेपाल प्रयासरत छ । हाम्रो औद्योगिक आधारलाई बिस्तार गर्न एवम् कृषि आधुनिकीकरण गर्न हामी प्रतिबद्ध छौँ । हामीले जलविद्युत विकासमार्फत् हाम्रा उद्योगहरूलाई आवश्यक ऊर्जाको प्रबन्ध गर्ने सङ्कल्प लिएका छौँ । बजारहरू लगानीमैत्री छन् भने व्यापारका लागि खुला छन् । भूगोलका कारणबाट सिर्जित अवरोधहरूलाई ‘वेल्ट एण्ड रोड इनिसिएटिभ’ ले सहज बनाउनेछ भन्ने विश्वास मैले लिएको छु ।

आदरणीय साथीहरू, 

गत वर्ष, सन् २०१५ मा, हामीले हाम्रा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको हीरक महोत्सव मनायौँ । वर्षौँ र दशकौँ लामो मित्रवत् यात्रामा हाम्रा मुलुकहरूले आपसी अवसरहरूको खोजी गरेका छन्, साझा आकाङ्क्षाहरूलाई मूर्तरूप दिन आफ्ना प्रतिबद्धताहरू व्यक्त गरेका छन् र आवश्यक पर्दा सहयोग आदानप्रदान गरेका छन् । दुई देशका जनता कठिन घडी र परिस्थितिमा एक–आपसमा सँगसँगै उभिएका छन् ।

यद्यपि, हाम्रा आकाङ्क्षाहरूलाई अझ अग्लो उचाइ दिने, अझ बृहत् आयाम दिने बेला अब भएको छ– सगरमाथा भन्दा अग्लो उचाइ, ग्रेटवालभन्दा बृहत् आयाम ! समृद्धिको साझा गन्तव्यसम्म पुग्नका लागि सँगै यात्रा गर्ने बेला अब भएको छ ।

समृद्धिको साझा गन्तव्यसम्म पुग्न, हाम्रा सामर्थ्यहरूको अधिकाधिक उपयोग गर्न ‘वन वेल्ट–वन रोड इनिसिएटिभ’ एक महत्वपूर्ण कदम हो । साझा चासोका विषयमा सामञ्जस्यता कायम गर्न र सम्पर्क सञ्जाललाई थप बलियो बनाउनका साथै यसले हाम्रो सहकार्यलाई गहिरो बनाउनेछ । 

राष्ट्रपति सिले भन्नुभए झैँ ‘साझा गन्तव्यको समुदाय’को रूपमा हामी, यो अभियानको जहाजबाट अनवरत सहकार्यको सागरमा तैरिंदै त्यो गन्तव्यमा अवश्य पुग्नेछौँ ।

२१ औँ शताब्दीको विश्व परिवेशमा, बिनापूर्वाग्राह र संशयबिना, आपसी लाभ अभिवृद्धि गर्ने विकास सम्बन्धहरू निर्माण गर्न आवश्यक छ । र, यो ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मार्फत् हामीले समावेशी, सकारात्मक प्रतिफल हासिल गर्न सकिने, र एसियालाई विश्व रङ्गमञ्चको अग्रभागमा स्थापित गर्ने सहयोगको निर्माण गर्न जरुरी छ । 

यस अभियानले सम्पर्क सञ्जालका सबै पक्षलाई घनीभूत तुल्याउनेछ –वाणिज्यका साथै वाङ्मयको सम्पर्क सञ्जाल, आपसी हितका साथै लाभको सम्पर्क सञ्जाल, व्यवसायका साथै पहिचानको सम्पर्क सञ्जाल, एसियाभित्र र अन्यत्रसम्मको सम्पर्क सञ्जाल ।

‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ले संस्कृति र समुदायहरूलाई नजिक ल्याई जनस्तरमा रहेको सम्बन्धलाई विकसित गर्नेछ । यस अभियानले हामीलाई शान्ति र सौहार्दताको साझा गन्तव्य नजिक ल्याउनेछ ।

ऐतिहासिक व्यापारिक रेसममार्गमा नेपाल एक महत्वपूर्ण मार्गका रूपमा रहेको थियो । नेपाल चीनलाई दक्षिण एसियासँग जोड्ने एक गतिशील पुलका रूपमा रहको थियो । र आज, त्यो भूमिकाको पुनरावृत्ति गराउने अभिभारा इतिहासले हामीलाई सुम्पेको छ । हाम्रा दुई मुलुकका साथै अन्य ६० भन्दा बढी मुलुकहरू र चार अर्व मानिसहरूलाई समेट्ने सम्पर्क सञ्जाललाई व्यापक बनाउने जिम्मेवारी इतिहासले हामीलाई सुम्पेको छ । 

चीनको आर्थिक वृद्धि र विकास समकालीन समयको एक प्रेरणादायी सफलताको कथा हो । चीनमा भइरहेको अद्वितीय रुपान्तरणबाट हामीले प्राप्त गर्न सक्ने लाभका अवसरहरू र चीनको विकासका सकारात्मक प्रभावहरूलाई ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ले सुदृढ तुल्यानेछ । चीनको एक निकटतम छिमेकी हुनुको नाताले पनि यस अभियानबाट नेपालले लिनसक्ने लाभ उल्लेख्य हुनेछ ।

सम्पर्क सञ्जालको सबलीकरण गर्ने प्रक्रियामा सक्रियरूपले सहभागिता जनाउन प्रतिबद्ध रहेको नेपाल विभिन्न अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय मञ्चहरूमा आबद्ध भएको छ । एसियाली पूर्वाधार लगानी बैङ्कको संस्थापक सदस्यको रूपमा हाम्रो सहभागिता विकास र सम्पर्क सञ्जालप्रतिको हाम्रो झुकाबको एक ताजा उदाहरण हो ।

आदरणीय साथीहरू,

‘बेल्ट एण्ड रोड इनिसिएटिभ’को सफलताले हाम्रा क्षमताहरूलाई उद्घाटित गर्नेछ र हाम्रा हितहरूबीच सामञ्जस्यता कायम गर्नेछ । व्यापार र लगानीका अवसरहरू खोल्दै यसले समृद्धि र विकासका लागि मार्ग बनाउनेछ । 

विचार, पुँजीको आदाप्रदानको लागि अवसरहरू खोली यसले हाम्रा मुलुकहरूबीच विकासको फलमा साझेदारी गर्नेछ ।

निर्वाध व्यापारका अवसरहरू खोली यस अभियानले हाम्रा सबै जनताको कल्याणका लागि मार्गप्रशस्त गर्नेछ ।

यी सम्भावनादेखि परिचित रहेका हाम्रा दुई देशले सन् २०१४ डिसेम्बरमा सिल्क रोड इकोनोमिक बेल्टको संयुक्त प्रवद्र्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । स्थलमार्ग एवं रेलमार्गमार्फत् सम्पर्क सञ्जाललाई गहन बनाउन दुबै पक्ष सहमत भएका छन् । हाम्रा यस्ता कदमहरूलाई अझ सघन बनाउन जरुरी छ । प्रचुर सम्भावना भएको यस आर्थिक मार्गलाई हामीले पुनर्जीवित बनाउन जरुरी छ । 

सम्पर्क सञ्जालका क्षेत्रमा परिवर्तनको अनुभव हामीले हाम्रै जीवनकालमा गर्नुपर्छ । अध्यक्ष माओले भनेजस्तै हामीले यो दिन र यो घडीको सदुपयोग गर्नैपर्छ । 

महिला तथा सज्जनवृन्द,

नेपालमा गत वर्षको अप्रिल महिनामा गएको भूकम्पपश्चात् राहत एवं उद्धार कार्यमा चीनले तत्कालै उपलब्ध गराएको अमूल्य सहयोगका लागि चीन सरकार एवं चिनियाँ जनताप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु । नेपालका विश्वविद्यालयहरूसँग रेनमिन विश्वविद्यालयले आपसी चासोका क्षेत्रमा शोधकार्य गर्न बृहत्तर सहकार्य र सहयोग अभिवृद्धि गरोस् भन्ने मैले चाहेको छु । प्राज्ञिक क्षेत्रमा हुने आदानप्रदानले हामीलाई र भावी नेतृत्वकर्ताहरूलाई शान्ति र समृद्धिको दिशातर्फ डोरयाउनेछ । 

हिजो मैले राष्ट्रपति सि जिङ्पिङ् एवं प्रधानमन्त्री लि खछ्याङ्सँग नेपाल–चीन सम्बन्धका विषयमा फलदायी र परिणाममुखी वार्ता गरेको थिएँ । समयको आवश्यकता र दुई देशका जनताको आकाङ्क्षाअनुरुप हाम्रो समबन्धलाई नयाँ उचाइ दिन हामी सहमत भएका छौँ । भावी दिनहरूमा सीमापार सम्पर्क सञ्जाल तथा पूर्वाधार विकास, व्यापार, लगानी, पर्यटन र शिक्षाका क्षेत्रहरू समेटिएको दीर्घकालीन आर्थिक साझेदारी एवं सांस्कृतिक आदानप्रदान हाम्रो आपसी सहयोगका आधारभूत घटकहरूका रूपमा रहनेछन् । 

अन्त्यमा, हाम्रा दुई देशबीच सहयोगका नयाँ अवसरहरू उद्घाटित गर्नका लागि हाम्रा विचारहरू, आकाङ्क्षाहरू आदानप्रदान गर्ने मञ्च उपलब्ध गराइदिनु भएकोमा म प्राध्यापक लिउ विइ तथा अन्य सबै साथीहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । 

धन्यवाद।

(चीनको रेनमिन विश्वविद्यालय, ‘वन वेल्ट, वन रोड इनिसियटिभ्सको सन्दर्भमा नेपाल–चीन सम्बन्ध’ विषयमा बेइजिङमा २२ मार्च २०१६ मा दिनुभएको मन्तव्यको अनुदित पाठ)

सम्बन्धित