NP EN

रुविभ्यालीमा ओली– विकासका लागि एमालेकै सरकार चाहिन्छ 

About

धादिङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन एमालेको सरकार अनिवार्य रहेको वताउनुभएको छ ।  


पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आइतबार (२०७९ चैत २६ गते) आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को निर्वाचनमार्फत जनताले एमालेलाई बहुमत दिने विश्वास व्यक्त गर्नुभयो । देशको आर्थिक अवस्था सवल बनाउन रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरूको विकास र प्रवद्र्धनमा ध्यान दिनु पर्ने अध्यक्ष ओलीले वताउनु भयो । 


उहाँले करिव ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीका बारेमा आफूले सुनेको स्मरण गर्नुभयो । अध्यक्ष ओलीले एमालेको सरकार नबनेसम्म  देशको विकास नहुने बताउनुभयो । अहिले पनि एमाले बलियो पार्टी रहेको तर, सत्ताको नेतृत्व गर्नबाट बञ्चित भएको चर्चा गर्दै उहाँले अर्को निर्वाचनमा बहुमतसहित सरकारमा जानुपर्ने धारणा व्यक्त गर्नुभयो । यसैका लागि पार्टीले ‘मिसन ग्रासरुट’ अभियान चलाएको उहाँको भनाइ छ । 


अध्यक्ष ओलीले विदेशीले जोडजाड गरेर बनाइदिएको वर्तमान सरकारका कारण नेपालको अर्थतन्त्र ध्वस्त भएकाले विकास बजेट धेरै आउने अपेक्षा नगर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । उहाँले रुविभ्यालीमा पाइने रुवि पत्थर, सिलाजित लगायतका बहुमूल्य पत्थरहरू आफूले सङ्कलन गरेर सुरक्षित राखिरहेको बताउनुभयो । यस्ता बहुमूल्य पत्थरहरू र खनिजपदार्थ पाइने ठाउँको विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा आफूले पहल गर्ने उहाँले बताउनुभयो ।


धादिङबेंसीदेखि रुविभ्यालीसम्मको बाटोलाई स्तरोन्नति गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले रुविभ्यालीको सबैभन्दा चर्चित पर्यटकीयस्थल पाङ्साङ् पाससम्म सडक सञ्जाल पुर्याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने दोहोर्याउनुभयो । नेपाललाई चीनसँग जोड्ने सीमा पनि यस भ्यालीमै पर्ने भएकाले यहाँका जनतालाई केरुङसम्म जाने, व्यवसाय सञ्चालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने बताउनु भयो । 


अध्यक्ष ओलीका साथ पत्नी राधिका शाक्य, पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि रुविभ्याली जानुभएको थियो । कार्यक्रममा मिसन ग्रासरुटका लागि धादिङ जिल्लामा खटिनुभएका केन्द्रीय सदस्यहरू कैलाश ढुङ्गेल, रुपनारायण श्रेष्ठ, भूमि त्रिपाठी लगायत जिल्लाका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।  


अध्यक्ष ओलीले त्यहाँ गोरक्ष हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित सुपर आवुखोला जलविद्युत आयोजनाको सुरुङमार्ग निर्माणका लागि ब्लास्टिङ शुभारम्भ गर्नुभएको थियो । 

 

सम्बन्धित