NP EN

मोहनप्रसाद अधिकारीको निधनमा अध्यक्ष ओलीद्वारा दुःख व्यक्त 

About

काठमाडौं, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जेल जीवनका क्रममा पञ्चायती शासकले आफूलाई मार्न गरेको प्रयासबाट जोगाउने प्रहरीका तत्कालीन सव–इन्सपेक्टर मोहनप्रसाद अधिकारीको निधनमा शोक व्यक्त गर्नु भएको छ । 


अधिकारीको आज बिहान काठमाडौंमा ८९ वर्षको उमेरमा निधन भएको थियो । २०३० साल मंसीर ३ गते रौतहट कारागारबाट जेल सार्ने बहानामा जंगलमा लगेर मार्ने प्रयास गरिएको थियो । त्यस क्रममा सब इन्सपेक्टर अधिकारीले आफ्नो जागिर जोखिममा पारेर ओलीलाई बचाउनु भएको थियो । बन्दी रहनु भएका ओलीलाई जेल सार्ने वहानामा रौतहटबाट बीरगञ्ज लैजाँदा बीच बाटोको जंगलमा हत्या गर्ने योजना तत्कालीन सरकारले बनाएको थियो । तर प्रहरी सव इन्सपेक्टर अधिकारीले बीच बाटोमा पर्ने जंगलतिर नलगेर ओली चढेको गाडीलाई बीरगञ्ज कारागार तर्फ लगेका थिए । 


अधिकारीको निधनले आफू अत्यन्तै दुःखी भएको उल्लेख गर्दै ओलीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटर अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । ‘मेरो जेल जीवनमा मृत्युबाट समेत बचाएर सहयोग पु¥याउने मेरा मित्र मोहनप्रसाद अधिकारीको ८९ वर्षको उमेरमा आज निधन भएको खबरले म अत्यन्त दुःखित छु’ अध्यक्ष ओलीले उल्लेख गर्नु भएको छ, ‘दिवंगत मोहनप्रसाद अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, उहाँका छोरीहरु ल्गायत परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । पञ्चायती निरंकुश प्रशासनले जेल सार्ने बहानामा मलाई मार्न प्रयास गरेका बेला उहाँले बचाउनु भएको त्यो क्षण म आज सम्झिरहेको छु ।’


पर्सा स्थायी घर भइ काठमाडौं बस्दै आउनु भएका दिवंगत अधिकारीका ६ छोरी हुनुहुन्छ । अधिकारीको आजै पशुपति आर्यघाटमा अत्यष्ठि गरिंदै छ ।    

सम्बन्धित