नेपालगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र बनाउने सङ्कल्प एमालेसँग मात्रै रहेको भन्दै पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउनुभएको छ ।
सोमबार (चैत २७ गते) नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा सङ्घ नेपालको ९औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु नै नेकपा (एमाले) को प्रमुख उद्देश्य भएको बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टीले निर्धारण गरेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा पुगेपछि युवाहरुले रोजगारीका विदेश जानु पर्ने अवस्था अन्त्य हुने बताउनुभयो । आफ्नो पार्टीले सरकारमा रहंदा मुलुकको विकास र समृद्धिका लागि नमुनायोग्य काम गरेको उदाहरण प्रस्तुत गर्नु भयो ।
‘एमालेले तीनवर्षको अवधिमा आर्थिक विकास र समृद्धिका लागि नमूनायोग्य काम गरेको थियो, वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी काम गर्नका लागि सरकार बनाउँछौं, अरुहरु सरकार बनाउनका लागि सरकार बनाउँछन् ।’
अध्यक्ष ओलीले सरकार बनाउनका लागि जोसुकैसँग गठबन्धन गर्ने संस्कृतिको विकासले देश ओरालो लागेको स्पष्ट गर्नुभयो । अहिलेको सत्ता गठबन्धन कुनै राजनीतिक विचार र सिद्धान्तको आधारमा बनेको नभई केवल सरकारका लागि बनेको उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले भन्नुभयो– यो गठबन्धनको संस्कृति, राजनीति छैन, विचार छैन । जेसुकै भए पनि, जसरी भए पनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कुकर्म गर्नुपर्ने खालको स्थिति बनाएको छ । यसले देशलाई ओरालो लगाएको छ । उहाँले नेकपा (एमाले) लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र नभएर देशको भविष्य काँधमा बोकेर हिंड्ने सशक्त युवाको पनि पार्टी भएको वताउनु भयो । इतिहासको विरासतको रक्षा गर्दै भविष्यको निर्माणमा लाग्न युवाहरुलाई उहाँको सुझाव थियो ।